एनसेलले एसईई दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष योजना ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ। यो योजनामा विद्यार्थीहरूले मात्र पचास रुपैयाँमा प्रिपेड सिम लिन सक्ने र विभिन्न आकर्षक सेवाहरूको फाइदा पाउने एनसेलले जनाएको छ।
कम्पनीले जनाएअनुसार यो सिममा दुई जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाउनेछन्।
मेरो स्कुल डिजिटल लर्निङ प्लेटफर्म हो जहाँ अनलाई सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडियो सामग्रीहरू उपलब्ध छन्। त्यस्तै जीपीएल गेमिङ पोर्टल हो जहाँ एचटीएमएलमा आधारित खेलहरू उपलब्ध छन्।
पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउने कम्पनीले जनाएको छ। साथै यो सिम लिएका ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य पाँच सय एमबी बोनस डाटा समेत पाउनेछन्।
विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्नेछन्। एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट यो सिम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बुबाको नागरिकताको फोटोकपी पेश गर्नुपर्ने हुन्छ।
