नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाएर सडक सुचारु गरिएलगत्तै यो दुर्घटना भएपछि सडक पुनः अवरुद्ध बन्न पुगेको थियो।

दुर्घटना लगत्तै सुरक्षाकर्मीको टोली खटिएर दुर्घटनाग्रस्त सवारीसाधनहरू हटाई अवरोध पन्छाएपछि अहिले सडक दुवैतर्फी रूपमा पुनः सञ्चालनमा आएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।