यसवर्षको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबार (आज) भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा अटो मेला सञ्चालन हुनेछ।
अटो–शो २०२६ मा २०० भन्दा बढी व्यवसायिक स्टलहरु रहने आयोजकले जनाएको छ। उद्घाटनको पूर्वसन्ध्यामा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलगायतले मेलास्थल र स्टलको निरिक्षण समेत गरेका थिए।
उनले अटो शोको सम्पूर्ण तयारी पूरा भएको र आज पुलिस क्लव भृकुटीमण्डको पेभेलियन हलमा कार्यक्रमको उद्घाटन हुने बताए। उनका अनुसार, अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गर्नेछन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्राण्ड सहभागी हुँदैछन्।
प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण लगायतका सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ।
नाडा अटो शोको यस संस्करणलाई नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गरिँदैछ। त्यसैले यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
