रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि गृह प्रशासनले १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।
विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ। परिचालिन गरिएका जनशक्तिमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना रहेका छन्। उनीहरूलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतसम्बन्धी कार्यमा खटाइएको छ।
बाढीका कारण सडक सम्पर्क अवरुद्ध भएका स्थानमा उद्धारका लागि स्थलमार्गसँगै हवाई माध्यमसमेत प्रयोग गरिएको छ। पहुँच कठिन भएका क्षेत्रबाट नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टर परिचालन गरिएको जनाइएको छ।
प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार कार्य जारी राखेका छन्।
