काठमाडाैँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले हार व्यहोरेको छ ।

नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय भएको थियो दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो ।

खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो भने दाेस्राे हाफमा थप २ गाेल गर्यो। बहराइनका लागि ५ खेलाडी महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले समान १/१ गोल गरे ।

नेपाल समूह ‘एच’ मा ३ खेल खेलेको हालसम्म अङ्कविहीनको अवस्थामा रहेको छ । नेपालले अब बहराइनसँग दाेस्राे लेगमा आउँदाे मङ्गलवार चैत १३ गते खेल्नेछ ।

समूहमा नेपाल, बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । यूएई ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा भने ३ खेलमा १ जितसहित यमन तेस्रो छ ।