काठमाडौँ । इन्डियन प्रिमियर लिग(आइपिएल)मा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले हराएको हो । गुजरातले दिएको २ सय रनको लक्ष्य पञ्जाबले १९ ओभर ५ बलमा  ७ विकेट गुमाएर भेटायो ।

पञ्जाबका लागि  शशांक सिंहले १९ बलमा ६ चौका र ३ छक्का सहित अविजित ६१ रन बनाए। कप्तान तथा ओपनर शिखर धवन २ बल खेलेर बोल्ड हुन पुगेका थिए। उनको विकेटपछि आएका प्रबशिमरन सिंहले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाए। ओपनर जोनी बइर्स्टोले १३ बलमा आउट हुनुअघि ४ चौका हानेर २२ रनको योगदान गरे। त्यसपछि साम करण, सिकन्दर राजा पनि सस्तोमै भए। आशुतोस शर्माले ३१ र जितेश शर्माले १६ रन जोड्दा इनिङको एक बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गरेको हो। गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्का प्रहार गरी सर्वाधिक ८९ रन बनाए । राहुल टेवाटियाले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रन बनाएर नट आउट रहे। केन विलियमसनले २६, साई सुदर्शनले ३३, ओपनर रिद्धिमन साहले ११ र विजय शंकरले ८ रन जोडे। पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।

आइपिएलको जारी सिजनमा ४/४ खेल खेलेको गुजरात र पञ्जाबले समान २ जित र २ हार ब्यहोरेका छन्। अंक तालिकामा पञ्जाब पाचौं र गुजरात छैटौं स्थानमा छ।

आईपिएलमा आज सनराईजर्स हैदराबाद र चेन्नई सुपर किङ्स खेल्दैछन् । खेल हैदरावादमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।