काठमाडौँ । साताको पहिलो दिन आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो । चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । पछिल्ला दिनहरुमा दैनिकजसो सुनको भाउ बढ्दै गएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो ।
रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नुलगायका कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरुको भनाइ छ ।
