चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बिजुलीको भूमिगत तार (केबल) पड्किएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत् अवरुद्ध भएको हो । निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ ।

मंगलबार साँझ मर्मतपछि विद्युत् सेवामा निरन्तरता आएपनि आज विहान केबलको तार पुन: पड्किएपछि विद्युत अवरुद्ध आएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले बताएका छन् । उनले निकुञ्जभित्र पड्किएको तार मर्मत कार्य सुरु गरिसकिएको बताए ।

आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिरहेको भएतापनि पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने एकिन हुन नसकेको उनले बताए । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु गरिएको भएतापनि काम सुरु भने भइनसकेको सापकोटाले बताए ।