काठमाडौँ । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ७८ रनले विजयी बनेको हो ।

चेन्नाईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको २६ बलमा चार चौकासहित सर्वाधिक ३२ रन बनाए । यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे । ट्राभिस हेड र नितिश रेड्डीले १५-१५ रन जोडे । हैदराबादलाई सस्तोमा समेट्न तुसार देशपाण्डेले ४ विकेट, मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २–२ विकेट र रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १-१ विकेट लिए ।

त्यसअघि चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो । चेन्नाइका कप्तान रुतुराज गायकवाडले शतक बनाउनबाट चुकेपनि ५४ बलमा १० चौका ३ छक्कासहित ९८ रनको सानदार इनिङ्स खेले । डयारिल मिचेलले ३२ बलमा ५२ रन बनाए । यस्तै शिवम दुबेले ३९ रन जोडे । हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १-१ विकेट लिए ।

जित पछि चेन्नाईको ९ खेलमा १० अंक सहित नेट रन रेटका आधारमा टोली अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।पराजित हैदराबादको पनि ९ खेलमा १९ अंक नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

आईपिएलमा आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।