काठमाडौँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । आईपीएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।

हैदराबादले दिएको  १ सय १४ रनको लक्ष्य कोलकाताले  १० ओभर ३ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो । कोलकाताका लागि वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै रहमानउल्लाह गुरबाज ३९, सुनील नारायण ६ रन बनाउँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे । हैदरावादका लागि प्याट कमिन्स र शाहबाज अहमदले एक/एक विकेट लिए ।

त्यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १ सय १३ रन बनाएको थियो । उसका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै एडेन मार्करामले २०, हेनरिक क्लासेन १६, नितिश कुमार रेड्डीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । हैदरावादलाई सस्तैमा समेट्न कोलकताका आन्द्रे रसेलले तीन, मिचेल स्टार्क तथा हर्षित राणाले दुई/दुई विकेट लिए ।

हैदराबादको यो स्कोर आईपीएलको इतिहासमा फाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा सानो स्कोर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *