काठमाडौँ । नेपाली क्रिकेट फ्यानको टी–२० विश्वकप क्रिकेट खेलमा नेपाली खेलेको हेर्ने लामो प्रतिक्षा आज पहिलो खेल नेदरल्यान्ड्ससँग खेलर पुरा हुने भएको छ। यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ । यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो।
अहिले नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्त्वका साथ हेरेको छ। यो विश्वकपमा नेपालका कप्तान रोहित पौडेल कान्छा कप्तान हुन् भने १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ रहेका छन्। आज पहिलो खेलमा कप्तानी गर्दा रोहित पौडेलको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन् । यो विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।
टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।
नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ। त्यस्तै जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ।
