काठमाडौँ । टी २० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ। समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्कासहित अविजित सर्वाधिक ५४ रन जोडे । यस्तै विक्रमजीत सिंहले २२, साइब्राण्ड ई. ले १४ र बास डी लीडीले अविजित ११ रन बनाए । नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बाेहराले समान १ विकेट लिए ।

यसअघि अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे । यस्तै करण केसीले २ छक्कासहित १२ बलमा १७, गुल्सन झाले १५ बलमा १ छक्कासहित १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जाेडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लाेगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए ।

फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो ।

नेपालले अब समूहमा आफ्नो दोस्रो खेल जुन १२ मा श्रीलंका विरुद्ध खेल्नेछ । सो खेल फ्लोरिडामा हुनेछ । त्यसपछिको तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिकासँग र चाैथाे तथा अन्तिम खेलमा जुन १७ मा बंगलादेश विरुद्ध खेल्न नेपाल वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *