काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ अन्तर्गतका छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद विन फैद स्टेडियममा नेपाली समयानुसार राति ९:४५ बजे खेल सुरु हुनेछ ।
यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै हुने तय भएको थियो। तर रंगशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एशियन फूटबल महासंघ) ले ‘न्यूट्रल भेन्यू’ मा गर्न निर्देशन दिएपछि नेपाली टोली साउदी पुगेको हो।
विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ । नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यूएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन् । यस्तै, डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् । मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् । फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशीक बाबु चौधरी छन् ।
छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ । फिफा वरीयतामा यूएई ६७औँ स्थानमा छ । नेपाल १७८औँ स्थानमा छ । रासस
