नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले मूल्य बढेको र हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।
यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य एक सय ६६ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेल भाउ लिटरको एक सय ५७ रूपैयाँ पुगेको छ ।
