ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानका चालकदल सहित यात्रा गरिरहेका ६१ जनाको ज्यान गएको छ। दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ।
दुर्घटनामा चालक दलका ४ सदस्य सहित ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा विमान ठाडो रूपमा घुमेर तल खस्दै गरेको देखिन्छ। आवासीय क्षेत्रमा भएको दुर्घटना भइ एउटा घरमा क्षति पुग्दा त्यसबाट थप मानविय क्षति भने नभएको जनाएको छ ।
प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् । एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।
