नेपालकी पलेशा गोवर्धनले पेरिसपारा ओलम्पिक्समा ऐतिहासिक पदक जितेकी छिन्। के–४४ क्याटगोरीको महिला ५७ केजी मुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक्स र पाराओलम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन्।
नेपाली खेलकुदको इतिहासमै ओलम्पिक्समा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुद कै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई पदक दिलाइन्।पलेशाले रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन्।
नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको ६ दशक सम्म पदक विहीनताको अवस्थालाई पलेशाले तोडेकी हुन्। चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्। महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो।
विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो। उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन् । उनको अदम्य साहश र परिवारको साथमा यही हात उनको जीन्दगीको सफलताको कडी मात्र बनेन, देशलाई विश्व खेलकुदमा चिनाउने सशक्त माध्यम नै बन्यो। ओलम्पिक्स पदक यही विशेष क्षमताबाट सम्भव बनेको छ। उनले २०१४ मा १३ वर्षको कलिलो उमेरदेखि नै तेक्वान्दो खेल्न सुरू गरेकी थिइन्।
