सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ। सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असारमसान्तसम्मकाे समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए। ‘जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मका लागि समय थपिएको छ,’ उनले भने, ‘अब देशभर कित्ताकाट खुल्यो।’
देशभरका सात सय ५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ। पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा ६२० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो। आजदेखि भने देशभरका मालपोत कार्यालयमा कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ।
मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न पालिकाहरूलाई आग्रह गर्नुभएको छ। तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गर्नुभएको हो ।
