न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति दुबईमा भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै विश्व विजेता बनेको हो ।

न्युजिल्याण्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान लौरा वोल्भार्ड्सले २७ बलमा ४ चौका मद्दतमा सर्वाधिक ३३ रन बनाइन्।

त्यस्तै ताज्मिन ब्रिट्सले १७, कोल ट्राएओनले १४ र अनेरिई डेर्कसेनले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एलाबाले २ तथा आयोबोङ्गा खाका, कोल ट्राएओन र नादिन डे क्रेलर्कले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरिन् ।

यस्तै ब्रुकी हालिडेले २८ बलमा ३ चौका प्रहार गर्दै ३८ रन जोडिन् । ओपनर सुजी बेट्सले ३१ बलमा ३२ रन बनाइन् । म्याडी ग्रीन १२ रनमा अविजित रहिन् । दक्षिण अफ्रिकालाई जितबाट रोक्न न्युजिल्याण्डका लागि रोसमेरी मेइर र अमेलिया केरले ३-३ विकेट लिए । यस्तै एइडेन कार्सन, फ्रान जोनास र ब्रकी हालिडेल समान १ विकेट लिए ।

प्रतियोगिताभरि १ सय ३५ रन बनाउँदै १५ विकेट लिएकी अमिला केर उत्कृष्ट खेलाडी बनिन् ।

न्युजिल्याण्डले तेस्रो पटक फाइनल खेल्दा पहिलो पटक महिला टी-२० विश्वकपको उपाधि जितेको हो । सन् २००९ को पहिलो संस्करणमा इंग्ल्याण्डसँग पराजित भएको न्युजिल्याण्ड २०१० को दोस्रो संस्करणमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ काे विजेता हाे । यस्तै इङ्गल्यान्ड पहिलाे संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ काे विजेता हाे ।

गतवर्ष घरेलु मैदानमै भएको महिला टी-२० विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको दक्षिण अफ्रिका फेरि पनि उपविजेता बनेकाे छ ।