काठमाडौँ उपत्यकाका सडकमा बिहानपख गाडीको आवतजावत सामान्य नै रह्यो। बिहान सबै समूहले एसईई भएकाले कहीँ कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ। तर दिउँसो १२ बजेपछि ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी भएकाले सडकमा अवरोध हुन सक्ने सम्भावना छ।
माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्याली निकाल्दैछ। नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट र्याली निकाल्ने तयारी गरेका छन्। चारवटै दलले फरक–फरक ठाउँबाट निकालेको र्याली भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभा शुरू हुने नेताहरुले बताएका छन्।
यस्तै राजावादीहरुले सिनामंगल र भक्तपुरबाट र्याली निकालेर तीनकुनेमा सभा गर्ने तयारी छ। दुई समूहले ठाउँठाउँमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ। राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ।
