नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाताको नामबाट बोलाइन्छ।

भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो। जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए। त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाताको नामले चिन्ने गरिन्छ।

चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहन्छिन्। सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ।

नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ। श्रद्धालु घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहत्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्।

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैँघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक/एक देवीको उपासना गर्ने परम्परा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *