रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ।

गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने भएको हो। श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए।

कात्तिक २ गते उनले निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए।

नागरिक उन्मुक्ति पार्टी नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सहमति गरिसकेको छ।

अहिले आएर श्रेष्ठको पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागेको हो। नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागिएको श्रेष्ठले पुष्टि गरिन्। उनले भनिन्, ‘केही कारणले उहाँहरू पार्टी छाडेर जानु भएको थियो, फेरि मैले प्रयास गरेर मिलाएँ।’

उनले आफूले रेशम चौधरीको पार्टी मिलाएको भनेपनि नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टीलाई रञ्जिता श्रेष्ठले स्वीकार गरेको बताइएको छ।

नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अब्दुल खानले दुई पार्टीबिच एकता हुने तय भएको र पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहने बताए। एकीकृत पार्टीको झन्डा तथा चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टी नेपालकै रहने उनको भनाइ छ।