कोहलपुर गोल्डकपको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। कोहलपुर गोल्डकप बैशाख १९ देखि २६ गतेसम्म हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। जसमा २ विदेशी टोली, ३ ए डिभिजन क्लब, २ मोफसलका क्लब र आयोजकको एक टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले ८ लाख र दोस्रो टोलीले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस संस्करणको प्रतियोगिता व्यवस्थापन तथा रणनीतिक साझेदारको जिम्मेवारी ईश्वरी युनाइटेड प्रालिलाई दिइएको आयोजकले जनाएको छ। तीन संस्करणमा प्राप्त सहयोग र सफलतापछि चौथो संस्करण आयोजना गर्न लागिएको गोल्डकपका संयोजक कर्णबहादुर बस्नेत जानकारी दिए।
प्रतियोगितालाई व्यवस्थित, आकर्षक र व्यापक पहुँचयुक्त बनाउन उक्त कम्पनीलाई रणनीतिक साझेदारका रूपमा जोडिएको बताइएको छ।
सहभागी टोली, खेल तालिका, मुख्य प्रायोजक तथा अन्य सहयोगीहरूको विवरण भने आगामी दिनमा सार्वजनिक गरिनेछ।
