मतदाता नामावली सङ्कलनको काम आजदेखि शुरु हुँदैछ। गएको मंसिरदेखि प्रतिनिधिसभा सदस्य चुनावका लागि नामावली सङ्कलन कार्य स्थगित भएको थियो। 

निर्वाचन आयोगको गएको बुधबारको बैठकले मतदाता नामावली सङ्कलनको काम शुरु गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ। 

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरणका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ। 

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था मिलाएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। 

नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा त्योभन्दा बढी मतदानस्थल रहेको भए पायक पर्ने ठाउँमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार पनि सच्याउन सकिने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *