काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राती भएको खेलमा गुजरात टाईटन्सलाई चेन्नईले ६३ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको खर्चेर दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाएको हो । चेन्नईका लागि शिभम दुबेले ५१ रन र रचिन रवीन्द्रले ४६ रन जोड्न सफल भए । प्लेयर अफ द म्याच घोषित शिवम दुवेले २३ बलमा ५१ रनको विस्फोटक इनिङ्स खेलका थिए उनले २ चौका र ५ छक्का हिर्काएका हुन् । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बलमा ४६ रन बनाए । ड्यारेल मिचेल २४ रनमा नटआउट रहे । गुजरातका लागि भने साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए भने रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए ।
चेन्नईका लागि दीपक चाहर, मुस्तफिजुर रहमान र तुसार देशपाण्डेले दुई-दुई विकेट लिए भने डेरल मिचेल र माथिसा पथरिनाले एक-एक विकेट लिए । त्यस्तै गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले समान एक-एक विकेट लिए ।
गुजरातले पहिलो खेलमा मुम्बई इडियन्सलाई हराएको थियो भने चेन्नईले रोयल च्यालेन्जर्स बेंगलूरुलाई हराएको थियो । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
आईपिएलमा आज मुम्बई र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ ।
