काठमाडौँ । जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएर लगातार दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।
१ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । दिल्लीका ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित ४४, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए । राजस्थानका लागि नान्द्रे बर्गर त युजभेन्द्र चहलले समान दुई-दुई विकेट लिए भने आवेश खानले १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । रियान पराग ४५ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा नट आउट रहे । रविचन्द्रन आश्विन २९, ध्रुब्र जुरेल २०, यशस्वी जैसवाल ५, जस बटलर ११ र सञ्जु स्यामसन १५ रनमा आउट भए । दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले एक-एक विकेट लिए ।
राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो । दिल्ली भने पन्जाब किङ्ग्ससँग पराजित भएको थियो ।
आज आइपीएलमा रोयल च्यालेन्जर्स बेंगलूरु र कोलाकत्ता राइटराइडर्सबिच खेल खेल्दैछन् । खेल नेपाली समयानुसार राति पौने ८ बजे हुनेछ ।
