काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं खेलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति मुम्बईको घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हराएको हो ।
मुम्बईले दिएको एक सय २६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए । तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए । टिम डेबिडले २४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर इशान किशनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् । राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए ।

राजस्थानको जितमा रियान परागले ३९ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।रविचन्द्रन आश्विनले १६ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए । पराग र आश्विनले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । सो साझेदारी नै जितमा निर्णायक बन्यो । जोस बटलरले १६ बलमा १३ तथा कप्तान सन्जस सामसनले १० बलमा १२ रन बनाए । मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए ।

पाँच पटकको उपाधि बिजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकालेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ ।
आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्टस् नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा खेल्दैछन् ।
