काठमाण्डौ – आयरल्याण्ड वुल्भ्ससँग आज नेपालका ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ। टी-२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत आजदेखि यी दुई टिमले एकदिवसीय सिरिज खेल्न लागेका हुन्। खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल चैत्र २३ गते शुक्रवार र अन्तिम खेल चैत्र २५ गते आइतवार हुनेछ ।
यसअघि नेपाली टोलीसँगको टी–२० शृङ्खला आयरल्याण्डले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँग खेलअघि आयरल्याण्ड ‘ए’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुईवटा टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा आयरल्याण्ड ‘ए’ पराजित भएको थियो ।
नेपाल ‘ए’को एकदिवसीय टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।
टिममा भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।
