काठमाडौँ । शुकबार सम्पन्न नेपाली फुटबलको तेस्रो श्रेणीको लिग शहीद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गतको खेलमा बागमती युथ क्लब विजयी भएको छ । बागमतीले सानेपा क्लबलाई ३-१ ले पराजित गरेको हो ।
सहिद स्मारक सि डिभिजनमा छनोट मोफसलको सफल क्लब मध्यको एक बागमतीका लागि विमल घिसिङ, सृजन गौतम र आमिर केसीले एक एक गोल गरे । सानेपाका लागि भने पेम्बा लामाले एक गोल फर्काएका थिए ।
यस्तै शुक्रबार भएको ‘सी’ डिभिजन लिगको दोस्रो खेलमा रानीवन स्पोर्ट्स क्लब र महावीर क्लबले भने १-१ को बराबरी खेलेका छन् । रानीबनका धनराज थापाले पहिलो हाफको इन्ज्यूरी समयमा अग्रता दिलाएका थिए तर खेलको अन्त्यतिर महावीरका शिव चौलागाईले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो टोलीका लागि एक अंक दिलाए ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा आरसी–३२ फुटबल एकेडेमीले खालीबारी युथ क्लबलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।
‘सी’ डिभिजनमा १४ वटा टोली छन् । यस पटक काठमाण्डौ उपत्यकाबाहिरका पाँच वटा क्लबले खेल्दैछन् । सिङ्गल राउन्ड रोबिनका आधारमा ९१ वटा खेल हुनेछ । लिग कम्तीमा तीन महिना चल्नेछ ।
लिगको समाप्तिमा शीर्ष दुई टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् । प्रतियोगितामा लिग विजेताले १० लाख, दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
सहिद स्मारक सि डिभिजनका दुई खेल आइतबार हुने भएका छन् । आइतबार दिउँसो १ बजे हुने खेलमा पुल्चोक स्पोर्ट्स क्लब र सामाजिक युथ क्लब खेल्दैछन् भने ४ : १५ मा मनोहरा युनाइटेड युथ क्लब र समाज कल्याण स्पोर्ट्स सेन्टर खेल्नेछन् ।
