काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्स विरुद्ध २९ रनको जित हात पारेको हो ।

मुम्बईले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्का सहित ७१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यस्तै पृथ्वी शवले ४० बलमा ८ चौका र ३ छक्का सहित ६६ रन बनाए । डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रनको योगदान गरे। मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए भने जस्प्रित बुम्राहले २ तथा रोमारियो शेफर्डले एक विकेट लिए।

त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । मुम्बईका लागि कुनै पनि ब्याटरले अर्धशतक बनाएनन् । कप्तान रोहित शर्माले २७ बलमा सर्वाधिक ४९ रन बनाउँदै अर्धशतकबाट चुके । यस्तै टिम डेभिडले २१ बलमा ४५ रन बनाउँदा शेफर्डले १० बलमा ३ चौका र ४ छक्का सहित ३९ रन बनाए । कप्तान हार्दिक पान्ड्याले पनि ३९ रन बनाएका थिए । दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले दुई/दुई विकेट लिए भने खेलील अहमदले एक विकेट लिए ।


जितपछि मुम्बई पुछारबाट माथि उक्लदै आठौं स्थानमा पुगेको छ । दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा पुगेको छ ।आईपिएलको आजको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स भिड्दै छन् ।
