काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्स गुजरात टाईटन्ससँग हारेको बेहोरेको छ। गुजरातले गएराति भएको खेलमा राजस्थानमाथि ३ विकेटले जित दर्ता गरेको हो । जारी सिजनको चार खेलसम्म अविजित रहेको राजस्थानको यो पहिलो हार हो ।

राजस्थानले ३ विकेटको क्षतिमा दिएको १ सय ९७ रनको लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ७२ रन बनाए । ओपनर साई सुदर्शनले २९ बलमा ३५ रन, रासिदले ११ बलमा २४ रन तथा टेवाटियाले ११ बलमा २२ रन बनाए । । राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो । राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान संजु स्यामसनले ६८ रन जोडे । त्यस्तै यशसस्वि जैसवालले २४ रन बनाए । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान एक/एक विकेट लिए ।

जित पछि गुजरात ६ खेलमा ६ अङ्क सहित छैठौँ स्थानमा छ । राजस्थान ५ खेलमा ८ अङ्क सहित शीर्ष स्थानमा छ । आईपीएलमा बिहीबार मुम्बई इन्डियन र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् ।
