काठमाडौँ । साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो ।

क्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४-४ गोलको बराबरी भएको थियो । निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । यस खेलमा रियल म्याड्रिडका लागि रोड्रीगोले र म्यानचेस्टर सिटीका लागि केभिन डि ब्रुनेले गोल गरेका थिए । सिटीको पेनाल्टी सुटआउटमा बेर्नार्डो सिल्भा र माटेओ कोभाकिकले पेनाल्टी मिस गरेका थिए ।

अब फाइनल प्रवेशका लागि बायर्नले स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्नेछ । बायर्न म्युनिखले आर्सनललाई क्वाटरफाइनलको दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा ३-२ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । यस अघि पहिलो लिगमा दुवै टिम २-२ को बराबरी खेलेका थिए । बुधबारको दुई खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र बरुसिया डर्टमन्ड सेमिफाइनल प्रवेश गरेका थिए । पिएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको म्याड्रिडको चुनौति समाप्त गर्दै अन्तिम चारमा पुगेका थिए ।