काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ । ५ खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा खेल्दैछ । सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।
वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ । वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स रहेका छन् ।
त्यस्तै नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी छन् ।
खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको थियो । कमल सिंह ऐरी, विनोद भण्डारी, सागर ढकाल र लोकेश बम थपिएसँगै अब सिरिजको ५ खेलका लागि प्रशिक्षण टोलीले २० खेलाडी प्रयोग गर्नेछ ।
