काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई हराएको छ । गएराति एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा बेंगलुरुले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । बेंगलुरुका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का १० चौका सहित ६४ रन बनाए । विराट कोहलीले २७ बलमा ४ छक्का २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे । दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे । बलिङतर्फ जोश लिटलले ४ विकेट लिए । नुर अहमदले २ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए । बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने ।
गएरातीको जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । समान खेल र समान अङ्क रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ ।
आईपीएलमा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ । यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।
