काठमाडौँ । तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। लामो दौडकी धाविका सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।
युनिभर्सियालिटी कोटामा उनले ओलम्पिक खेल्ने भएकी हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) र नेपाल एथ्लेटिक्स संघबाट युनिभर्सल कोटा (वाइन्ड कार्ड) का लागि नाम सिफारिस भएकोमा अहिले अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघबाट स्वीकृत भएको हो ।
सन्तोषीको नाम ओलम्पिकमा खेल्ने पक्का भएको जानकारी एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैधले जानकारी दिए।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघबाट आफ्नो स्वीकृत भएको जानकारी आजै आएको सन्तोषीले बताइन्। ”मौका पाउँछु कि पाउँदिन भन्ने थियो, ओलम्पिक खेल्ने सपना पूरा भयो अब कसरी राम्री नतिजा दिन सकिन्छ भन्नेमा मेरो तयारी र ध्यान हुनेछ।” उनले भनिन् ।
पेरिस ओलम्पिक आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ।
यसअघि गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी सन्तोषीले सन् २०१९ मा नेपालमा भएको साग गेम्समा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन्। उनी साग इतिहासमा एथ्लेटिक्सतर्फ नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनेकी थिइन्। त्यस्तै गत वर्ष बंगलादेशमा भएको बंगबन्धु म्याराथनको दक्षिण एसियालीतर्फ विजेता बनेकी थिइन्।
