काठमाडौँ । गोदावरी नगरपालिका, ललितपुरका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
राजस्व चुहावट गरी सरकारलाई हानिनोक्सानी पुर्याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र तत्कालीन प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा गोदावरीको ढुंगा-गिट्टी र बालुवाको बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानीनोक्सानी पुर्याएको उनीहरूमाथि आरोप छ।
उनीहरूविरूद्ध एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गरेको छ। अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको अदालत स्रोतले जानकारी दिएको छ ।
