आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ।

यसअघि  भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो।

भारतका कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शुन्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गर्दै जितमा नायक बने । अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए। उनले ४९ बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन्।

दुवेले ३५ बलको सामना गर्दै एक चौका र एक छक्काको मद्दतमा नटआउट ३१ रन जोडे। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए। अमेरिकाका लागि सौरभ नेत्रावलकरले २ विकेट हात पारे भने अली खानले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । उसका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टिभन टेलर्सले २४ रन तथा कोरी एन्डरसनले १५ रन ज‍ोडे । एरोन जोन्स र साड्ले भान स्काल्कवाकले ११–११ रन बनाए । भारतका अर्शदीप सिंहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले दुई विकेट र अक्षर पटेलले एक विकेट हात पारे।

जारी विश्वकपमा दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सुपर ८ मा प्रवेश गरिसकेका छन्। सुपर ८ मा पुग्ने भारत तेस्रो टिम बनेको छ । समूह ए मा ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको हो । अमेरिका ४ अङ्कसहित समूह ए को दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *