काठमाडौँ । आयोजक जर्मनीले युरो कप २०२४ को सानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीको सानदार जितमा पाँच खेलाडी फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले गोल गर्दै हराएको हो । स्कटल्यान्डले एक गोल उपहार पायो ।
एलियान्ज एरिनामा खेलको १० औँ मिनेटमा नै फ्लोरियान व्रिट्जले जर्मनीलाई अग्रता दिलाएका थिए । ९ मिनेटपछि जमाल मुसियालाले टोलीको अग्रता दोब्बर बनाए । ४४ औँ मिनेटमा रायन पोरटेयसले रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि काई हाभर्टजले पेनाल्टीबाट तेस्रो गोल थपे ।
दोस्रो हाफमा निकलास फुलक्रुगले चौथो गोल गरे । ८७ औँ मिनेटमा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डले एक गोल फर्कायो । तर, इन्जुरी समयमा एमरे चानले पाँचौँ गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
यस जितसँगै जर्मनीले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । अब जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछ ।
युरो कपमा आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ ।
