स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाले लगातार तेस्रो जित दर्ता गरेको छ। गएराति भएको खेलमा बार्सिलानाले रायो भालेकानोलाई उसैको घरेलु मैदान स्टाडियो डे भालेकासमा २–१ गोलले हराउँदै लगातार तेस्रो जित हात पारेको हो।

बार्सिलोनाले रायो भालेसानोलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भालेसानोले घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।

बार्सिलोनाको जितमा प्याड्रि र ड्यानी ओल्मोले गोल गरे । भालेकानोका उनाई लोपेजले खेलको नवौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पुनरागमन गर्दै बार्सिलोनाले दुई गोल फर्कायो । 

खेलको ६० औं मिनेटमा पेद्रीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ८२ औं मिनेटमा डानी ओल्मोले निर्णायक गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

बार्सिलोना ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएकाे छ। बार्सिलोनाले यसअघि पहिलो खेलमा भ्यालेन्सिया र दोस्रो खेलमा एथलेटिको बिलबाओलाई पराजित गरेको थियो। त्यस्तै, पराजित भालेकानो ४ अंक सहित आठौं स्थानमा छ।

अर्को खेलमा मालोर्का र सेभिल्लाले गोलरहित बराबरी खेलेका थिए । ला लिगामा बुधबार २ खेल हुँदैछन् ।