तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सिरिजमा नेपाललाई घरेलु टोली अमेरिकाले १ सय ५७ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए। त्यस्तै मिलिन्ड कुमारले नटआउट ४३ रन, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्नेछ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।
टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।
