एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ। दुबईमा गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।
पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्याे। भारतका कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए। त्यसैगरी शुभमन गिल र शिभम दुवेले १०–१० रन बनाए।
त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिए। यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो।
पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए। त्यस्तै फकर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए। भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्षर पटेलले २–२ विकेट लिए।
यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो। पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले समूह चरणको अन्तिम खेल आउँदो शुक्रबार ओमानसँग खेल्नेछ।
त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ। पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल पर्सि बुधवार युएईसँग खेल्नेछ। प्रतियोगिता अन्तरगत आज आयोजक युएई र ओमान तथा श्रीलंका र हङकङ भिड्नेछन्।
