काठमाडौँ । बीआईए फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा शनिबार काठमाडौँमा ह्वीलचेयर रेस सम्पन्न गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, सहिद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै भृकुटीमण्डपमा आएर सम्मपन्न भएको थियो ।

बीआईए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गरी दुई प्रतिस्पर्धा गरिएको थियो । जसमा करिब २०० जना सहभागी भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रेम बहादुर विके पुरुष तर्फ र यामी झाँक्री मगरले महिलातर्फ बिआइए म्याराथनको उपाधि जितेका हुन् । त्यस्तै पुरुषतर्फ रमेश खत्री र पवन गुरुङ क्रमश दोस्रो र तेस्रो भएका थिए भने महिलातर्फ रजनी राई दोस्रो र लाली तामाङ तेस्रो भए।

दुवै प्रतिस्पर्धा विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले १५ र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे । विजेताहरुलाई वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले पुरस्कार वितरण गरेका हुन् ।