काठमाडौँ । बर्दिया अस्पताल गुलरिया बर्दियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। बर्दिया जिल्लाको सबैभन्दा ठूलो अस्पतालका रुपमा चिनिएको बर्दिया अस्पतालमा नै गत फागुन १६ गतेदेखि भ्याक्सिन नभएपछि सेवाग्राहीहरु यसै फर्किने गरेका छन् ।

बर्दिया अस्पताल गुलरियामा कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गए पनि मागअनुसारको भ्याक्सिन उपलब्ध नहुँदा समस्या आउने गरेको अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले बताएका छन्।

रेबिज रोग लागेपछि यो रोगको उपचार सम्भव नभएकाले अत्यावश्यक भ्याक्सिन अन्तर्गत नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएकोमा बर्दिया अस्पतालले भ्याक्सिन रित्तिएका सम्बन्धमा सूचना नै निकालेर सेवा बन्द गरेको जानकारी गराएको छ।

लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले समयमा खोप अस्पताल नपठाउँदा कुकुर–बिरालोलगायत जंगली जनावरले टोकेर आएकाहरू सुई नलगाई फर्कन बाध्य छन्। बारबर्दिया नगर अस्पताल बारबर्दिया, बासगढी नगर अस्पताल बासगढी, प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा रेबिजविरुद्धको भ्याक्सिन लगाउने गरिए तापनि स्टक न्यून रहेको छ।

प्रतिएकजनालाई पाँच डोज लगाउनुपर्ने हुदाँ हाल स्टकमा रहेका स्वास्थ्य संस्थामा पनि पर्याप्त भ्याक्सिन नभएको स्वास्थ्य कार्यालय बर्दियाले जानकारी गराएको छ । कतिपय नेपालगन्ज, कोहोलपुरलगायतका निजी अस्पतालमा गएर महँगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका छन्।

दुईदेखि आठ डिग्री सेल्सियसको तापक्रममा भ्याक्सिन राख्नुपर्ने भएकाले निजी स्वास्थ्य संस्थाहरूले तापक्रमको उचित व्यवस्थापन गर्न नसक्ने भएकाले भ्याक्सिन राख्ने गरेको पाइँदैन।

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा ३५ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनिएको छ। तर, अस्पतालमा एन्टिरेबिविज भ्याक्सिन नहुँदा  बिरामीहरुरू  मौलिक हकबाट समेत वञ्चित हुनुपरेको छ।