काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।
आयोगले सूचना जारी गर्दै सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाएको हो ।
बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
