विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमाल आरोहणको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजंघा हिरक महोत्सव-२०८२’ आयोजना हुँदैछ। ‘कञ्चनजंघा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित महोत्वस आयोजना हुन लागेको हो।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव शुक्रबारदेखि आइतबार (५ देखि ७ गते) सम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन आज गरिनेछ भने तीनदिने महोत्सव अवधिभर कञ्चनजंघा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनी लगायतका विविध गतिविधि हुनेछन्।
सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आएतापनि पहिलो सफल आरोहण सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजंघाको दक्षिणी मोहोडाबाट पहिलोपटक सफल आरोहण गरेका थिए।
परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा ताप्लेजुङका छ जना कञ्चनजंघा आरोहीहरु पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पालाई सम्मान गरिनेछ।
