छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसी आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ। यतिबेला छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ। कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरुले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका हुन्।
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन्।
छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ। छठको मुख्य दिन हिजो देशभरी सार्वजनिक बिदा दिइएको थियो।
आज मधेश प्रदेशमा सार्वजनिक बिदा
छठ पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ। मिथिलाञ्चलसहित तराइ मधेशको महापर्वको रुपमा छठ मनाउने गरिएकोले मधेश सरकार आजको दिन बिदा दिँदै आएको छ।
